रिभर गाइडहरुलाई १० दिने रोजगार

रिभर गाइडहरुलाई १० दिने रोजगार

कुरिनटार : जल पर्यटनमा आश्रित मजदुरहरुलाई रोजगार प्रदान गरेको छ । कोभिड–१९ महामारीका कारण जल पर्यटन व्यवसायीमा आवद्ध मजदुरहरु समस्यामा परेका कारण टुरिजम बोर्ड, युएनडिपी र नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडहरुलाई नदी सरसफाई तथा पहुँच मार्ग सुधारका काम सहित रोजगार प्रदान गरेका हुन् ।
कोरोनाको महामारीकाकारण लामो समय देखि राफ्टीङ बन्द भएपछि जल पर्यटन व्यावसायी तथा त्यसमा आवद्ध रिभर गाइडहरु समस्यामा परेपछि चाडबाडको खर्चलाई समेत मध्यजनर गरि ७ देखि १० दिन सम्मको रोजगार प्रदान गरिएको नेपाल एसोसियसन अफ राफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष गंगा प्रसाद नेपालले बताउनुभयो ।

त्रिशूली नदी किनारमा सरसफाई तथा नदीको पहुँचमार्ग सरसफाईका काममा रिभर गाइडहरु संलग्न छन् । त्रिशूली नदीको बैरेनीदेखि देवघाटसम्म यो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका, गजुरी गाउँपालिका, गण्डकी गाउँपालिका र गल्छी गाउँपालिकाको सहकार्यमा कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ ।
विगत दुई बर्षदेखि कोभिड–१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुरहरु समस्यामा परेका छन् । डुंगा चलाउन विभिन्न देशममा जाने गरेकोमा कोरोनाका कारण जान पाएका छैनन् ।
हाल सम्म त्रिशूली नदीमा १०८ जना भोटे कोशीमा ७० जना, कर्णालीमा ८० जनालाई रोजगार दिएका छन् । काठमाण्डौको पशुपती क्षेत्र, दक्षिणकाली, गुहेश्वरी लगायत अन्य पुरात्वात्विक क्षेत्रहरुमा रोजगार प्रदान गरिएको उहाँले बताउनुभयो ।
हाल सम्म नेपालमा ८० वटा राफ्टिङ कम्पनीहरु छन् भने १ हजार ५०० जना रिभर गाइडहरु छन् ।
कार्यक्रम असोज १२ गतेदेखी सुरु भएको हो । चितवनको इच्छाकामना ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारीको प्रमुख आतिथ्य तथा यूएनडिपीका प्रोजेक्ट सपोर्ट इन्जिनियर अमित विष्टको विशिष्ट आतिथ्य, हिमालयन रिभर गाइड एशोसियसनका अध्यक्ष मानध्वज गुरुङ, नेपाल रिभर कन्जरभेटिभ ट्रष्टका संस्थापक अध्यक्ष मेघ आले लगायतको उपस्थितिमा उक्त रोजगार कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कोभिडका कारणराफ्टीङ व्यवसायी बन्द हुदाँ समस्यामा परेका रिभर गाइडहरुलाई चाडबार्डको समयमा केही दिन रोजगार प्रदान गर्दा थोरै भएपनि राहत मिलेको फिल्ड सुपर भाइजर विकास गुरुङले बताउनुभयो ।