पुस्तक समीक्षा: कवि रामनाथ र ‘खुल्ला पर्दा’ कविता सङ्ग्रह

पुस्तक समीक्षा: कवि रामनाथ र ‘खुल्ला पर्दा’ कविता सङ्ग्रह

तेजविलास अधिकारी
रामनाथ त्रिपाठी इच्छाकामना गाउँपालिका वडा नं. ४ मा क्रियाशील सामाजिक व्यक्तित्व हुनुहुन्छ । खानेपानी उपभोक्ता समिति, सहकारी संस्था, रेडियो सञ्चालक समिति, टोल सुधार समिति आदि संस्थामा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्रिपाठीको अर्को पाटो ‘खुल्ला पर्दा’ बनेर उघ्रिएको छ । सानैदेखि गीत, गुनगुनाउने, कविता लेख्ने, भजन गाउने, सिलोकमा स्वर मिलाउने उहाँको रुचिले एउटा अर्थपूर्ण यात्रामा सामेल हुन पाएको छ ।
झण्डै दुई दशकदेखि नै कविता सुनाउँदै आउनु भएको रामनाथका यस अघि नै फुटकर कविता प्रकाशन र प्रशारण भएका छन् । जीवन बिताउने क्रममा आफ्नै जीवनभित्र सिकेका पाठ र समाजमा देखिएका विकृति विसङ्गतिलाई कविताको विषय बनाउनु हुने कवि रामनाथ सामाजिक विषयमा कविता लेख्ने समसामयिक प्रगतिशील धाराका स्रष्टा हुनुहुन्छ ।

कवि रामनाथ त्रिपाठीको जन्म वि.सं. २०२८ जेठ ७ गतेका दिन पिता टेकनाथ त्रिपाठी र माता मीनाकुमारीको कोखबाट भएको हो । कुरिनटारको बसाई, हुर्काई र अध्ययनले उहाँलाई विचारमा निकै धारिलो बनायो । पञ्चायत कालमै अन्याय र अत्याचारका विरुद्ध बोल्न नडराउने आफ्ना दाजु रामप्रसाद त्रिपाठी अनि कृष्णप्रसाद सिलवाल, नारायणप्रसाद अधिकारी, शिवहरि सिलवाल, रामचन्द्र सिलवाल, रामचन्द्र त्रिपाठीहरूको कुराकानी सुन्ने र बुझ्ने मौका पाउनु भएको रामनाथले समाज भित्रको विभेद र राजनीति अवस्था भित्र रहेको दमनकारी अवस्था बुझ्नु भयो । विद्यालय शिक्षा श्री सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारबाट पूरा गरी वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट प्रविणता प्रमाणपत्र तह पूरा गर्नु भएको उहाँले स्नातक तह अध्ययनरत रहेकै बेला घर व्यवहारका कारण त्यसलाई पूर्ण गर्न सक्नु भएन । औपचारिक कक्षा र तहभन्दा पनि जीवनको कक्षामा सदा इमान्दार प्रयासमा लागिरहने उहाँ अन्याय र अत्याचार विरुद्ध प्रष्ट ढङ्गले बोल्ने, लेख्ने र प्रतिकारमा उत्रने व्यक्तित्व हुनुहुन्छ ।

एकाउन्न वर्षे यात्रामा रहनु भएका रामनाथ साथीभाइको काम सामाजिक संघ, संस्था र प्रगतिशील राजनीति यात्रामा साह्रै परिश्रमपूर्वक खटिरहनु हुन्छ । उहाँको जुझारुपन र लेख्न यात्राले उहाँलाई प्रगतिशील स्रष्टाको रूपमा चिनाएको छ । जनसांस्कृतिक महासङ्घ, चितवन, अखिल नेपाल लेखक सङ्घ, चितवन, शारदा घरदैलो कार्यक्रम, साहित्य सङ्गम चितवन जस्ता वैचारिक र सांस्कृतिक संस्थाहरूसँगको आबद्धता र सहकार्यमा आफ्नो काव्यिक यात्रालाई उहाँले निखार्न र तिखार्न प्रयास गरिरहनु भएको छ । मूलतः वामपन्थी झुकावमा सानैदेखिको उहाँको रुचिले उहाँलाई विकृति, विसङ्गति, अन्याय–अत्याचारप्रति विरोध साथै श्रमको मूल्यप्रति सम्मान गर्न प्रेरित तुल्यायो ।

पिता टेकनाथ त्रिपाठी र माता मीनाकुमारीको प्रेमपूर्ण व्यवहार गर्नेदेखि रामायण, महाभारत, कृष्णचरित्र जस्ता साहित्यिक कृतिहरूको चर्चा र श्रवणले भित्री हृदयदेखि नै साहित्यमा गद्य र पद्य धारतर्फ उहाँ आकर्षित हुनुभयो । पञ्चायतकाल, बहुदलकाल, जनयुद्धकाल र गणतन्त्र प्राप्तिपछिको द्वन्द्वात्मक अवस्था र नवीन प्राप्तिको यात्रासँगै उहाँका कलम खारिदै आएका छन् ।

केही लेख्नु पर्छ, सुनाउनु पर्छ, अर्काको आलोचना नसुनी परिपक्क भइँदैन भन्ने विचार र व्यवहार भएको कारण रामनाथ आफ्नो सामाजिक कदलाई धेरै अग्लो बनाउँदै जान सफल हुनु भएको छ । प्रगतिशील राजनीतिमा प्रत्यक्ष र परोक्ष रूपमा सहभागी बन्दै विचार र लेखनलाई घोल्न प्रयास गर्ने उहाँको कलम न्याय प्राप्तिका निम्ति अन्यायको विपक्षमा उभिएका छन् । एउटा कलम जनतालाई जगाउने महत्वपूर्ण हतियार पनि हो । त्यही हिसाबले कवि रामनाथ कलमलाई प्रयोग गर्न अग्रसर रहनुभएको देखिन्छ ।

‘खुल्ला पर्दा’ कविता सङ्ग्रहभित्र जम्मा ३२ ओटा कविता सङ्कलित रहेका छन् । धेरैजसो गद्य, केही पद्य र केही गीतिलयमा संरचित रहेका कविताहरूको स्वर फरक–फरक रहेको छ । कवि केही कविताम अलि तन्किएका छन्, कतै खुम्चिएका छन्, यो अवस्था आकार र विचार दुवै हिसाबले प्रकटित भएको छ । स्वभाविक ढङ्गले हेर्दा उहाँको यो पहिलो कविता सङ्ग्रह पनि हो । केही अपेक्षा पाठकको पूरा नहुन पनि त सक्छ । मूल विषय लेखक के विषय प्रस्तुत गर्न कसरी लागिपरेको छ त्यो नै हो । कवि रामनाथले लेख्नु भएको कविता श्रद्धेय कवि कृष्णप्रसाद पोखरेलको विचार र व्यवहारले गुणात्मक ढङ्गले बदलिएको छ । सरल ग्रामीण जीवनका भावहरूलाई पोख्ने क्रममा कविता कविले अकविता पनि बनिदिन्छ ।

लेखकले लेख्दा राम्रो लागेको विषय पाठकीय दृष्टिमा हल्का र कहिले–कहिले त प्रतिगामी पनि देखा पर्छ । ‘तीज विशेष’, ‘हाम्रो धर्म संस्कार’, ‘रिसाउनेहरू’, ‘गाई’ जस्ता शीर्षकका कविताहरूले परिमार्जन खोजेको कविलाई पत्तै भएन । ‘आमा’, ‘दलित आवाज’, ‘सहकारी’, ‘बालगीत’, ‘उठौं नेपाली’, ‘उठ युवा’, जस्ता कविताहरूले सामान्य ढङ्गले गहन भाव पैदा गरेको विषय पनि पत्तै नपाई पाठक सुरुचिपूर्ण कविताका कोटिमा राख्न पुग्छन् । झण्डै तीन दर्जन कवितामा कविले सामाजिक विविधता र शैलीगत प्रयोग पक्षमा अपनाएको मौलिकताले सामान्यतः कवि रामनाथ विचार कम र व्यवहारका कवि हुनुहुन्छ भन्ने प्रमाणित गरिदिएको छ ।

स्वच्छन्दतावादीहरू कवितालाई कल्पनाको उडान, प्रगतिवादीहरू कवितालाई विचार, दर्शन र व्यवहारको कसी अनि आदर्शवादीहरू कवितालाई मात्र आदर्शको पुञ्ज ठान्दछन् । कविताको शक्ति भनेकै समाजको एउटा विषयवस्तु टिप्दा प्रयोग गरिने कलात्मक शैली नै हो । कवि कति समाजमैत्री छ, व्यवहारमैत्री छ अनि कति स्वप्नदर्शी छ भन्ने कुरा उसको विचार नाप्ने कसी उसैको कविता त हो । यस आधारले हेर्दा कवि रामनाथ समाजमैत्री र व्यवहारमैत्री हुँदाहुँदै पनि स्वप्नदर्शी बन्न भ्याउनु भएको छैन । आगामी दिनमा यो पाटोलाई पूरा गर्न उहाँ लाग्नै पर्दछ । कवि रामनाथ सरल भाषालाई प्रयोग गरेर जनमैत्री कवि बन्नु भएको छ । यस क्रममा उहाँले काव्यको आलङ्कारिक भावलाई अझैँ उचाइमा लैजानु पर्ने देखिन्छ । कवि सपाट केही विषय उठाउनुहुन्छ; ‘आग्रह’, ‘परिस्थिति’, ‘सङ्घर्ष’, ‘प्रेम गर्छु’, ‘खुल्ला पर्दा’, ‘बाटो’, ‘पानी’ जस्ता कवितामा अत्यन्त सरल ढङ्गले पोखिनु भएको मात्र छैन भन्न आँटेका कुरा सजिलोसँग पोख्न सफल पनि हुनु भएको छ ।

कवि रामनाथ त्रिपाठी सरल जीवनका पर्याय बन्ने यात्रामा हुनुहन्छ । सरल जीवनशैली भित्र पनि विचारमा उथलपुथल हुने रहेछ । कविको मनमा छुन आउने विषयले कविलाई कति उकुसमुकुस पार्दो रहेछ अनि त्यसको समाधानार्थ निस्कने विचार काव्य बन्ने रहेछ कविता । कविले निकै सचेतापूर्वक आफ्नो रचनामा गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक प्रतिनिधित्व जस्ता विशेषता भएको गणतान्त्रिक व्यवस्थाको पक्षमा देखिनु भएको छ । कविले यो व्यवस्था भित्र देखिएका यी आजका दृश्य ठिक छ, न्यायसङ्गत छ भन्नु भएको छैन । उहाँले पुगेन, अझै उठौं, लागौं र जनताको हितमा एउटा वातावरण बनाउनै पर्दछ भन्नुहुन्छ । कविले समाजमा रहेका यावत् समस्यालाई समाधान गर्न विचारको सहायताले आफ्ना वाणीहरू दिई नै रहनुपर्दछ, त्यसो भयो भने मात्र कवि वा साहित्यकारको भूमिका निर्वाह गरेको ठहरिन्छ । स्थानीय र केन्द्रीय विविध समस्याका कारण हाम्रो समाजले सही बाटो लाग्न खोज्दा खोज्दै पनि अवरोध सिर्जना भएका छन् । समस्या देखाइदिने, समस्याका कारण खोतलिदिने अनि समाधानका निम्ति उपायहरू सुझाउने मार्गमा कवि रामनाथ तल्लीन हुनुहुन्छ ।

पालिकाका हिसाबले केन्द्र र केन्द्रीय राजधानी काठमाडौंको हिसाबले मोफसलमा रहेर उहाँले पु¥याउनु भएको साहित्यिक योगदानको मूल्याङ्कन समयक्रममा नै होला । पाठक बढाउनु, आफ्नो विचार सुनाउनु र आफ्नो काव्यिक विचारले समाजलाई अग्रगतिमा लैजान प्रयत्नरत रहनु नै एउटा असल स्रष्टाको काम हो । यही कोणबाट उहाँको कृतिको पठन, मनन र मूल्याङ्कन होला ।