मनकामना केबलकार आजदेखि नियमित संचालनमा

कुरिनटार : नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो।
केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। अष्ट्रियाली प्राविधिकको सुपरीवेक्षणमा मर्मत सम्भार गरिएको उनले बताए।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गरिएको उनले बताए। कम्पनीले चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना बनाएको छ।
कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ। यो सबै स्तरोन्नतिसँगै भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ।
