अनुहार हेर्दैमा परिचय खुल्छ र ?

अनुहार हेर्दैमा परिचय खुल्छ र ?

सामान्यन्त : हामी कुनै पनि मानिसको अनुहार हेरेर,भेषभूषा तथा पहिरन नियालेर र बोलीचालिको लवज सुनेर उक्त मानिसको बारेमा धेरै कुरा अड्कल काट्ने गर्छौं । उक्त मानिस हिमाल, पहाड र तराइ कहाँको बासिन्दा हो , कुन जातजातिको हो र उसको उमेर कति हो आदि कुरा हामी उसको सामीप्यमा आएर नजरअन्दाज गर्ने गर्छौं । तर सबैको बारेमा गरिएको अड्कल मिल्दो भने हुँदैन । म स्वयं यसको अपवादमा पर्ने व्यक्ति हुँँ । अर्थात् मेरो नामथर, घरठेगाना र उमेर सम्वन्धमा वास्तविकता अड्कल गरेअनुसार कत्ति पनि मेल खाँदैन । धेरै ठाउँमा मैले आफ्नो परिचय दिदा मानिसहरु मानिसहरु प्रतिप्रश्न गर्दै भन्छन् कि तपाईं सरासर झूठ बोलिरहनुभएको छ ।

म पहाडको मान्छे । तर झलक्क हेर्दा सबैजसो मान्छेले मलाई तराइको मान्छे हुनुपर्छ भनी अड्कल काट्दा रहेछन् । काठमाडौं(पोखरामा क्याम्पस पढ्दादेखि नौवटा हिमाली जिल्लामा जागिर खाँदासम्म सबै ठाउँमा मलाई “मधेशीु व्यक्तिको रुपमा परिभाषित गरिरहे । कतिले त तपाईंले नेपाली राम्ररी बुझ्नुहुदो रहेनछ भनेर हिन्दीमा समेत बोल्ने गर्थे । म तराइको मान्छे होइन ,पहाडको हुँँ भनेर भन्दा पनि कति मान्छेले विश्वास नगरी रिसाउदै झूट बोलेको आरोप लगाउँथे । कोही कोहीले पहाडको मान्छे भनी विश्वास गरे पनि तपाईं बाहुन छेत्री त होइन , कि नेवार कि दलित हुनुपर्छ भनी अड्डी लिन्थे । तिहार लगत्तै जिल्ला फर्कदा स्थानीय बासिन्दा लगायत स्थानीय कर्मचारीले समेत भन्ने गर्थे, तपाईं त छठ नमनाइ आउनुभएछ नि ! म मुसुक्क हाँसेर जबाफ दिन्थें, छठ यतै मनाउनु पर्ला । 

कालो वर्णको र मधेशी ब्राण्ड अनुहार भएकोले मैले पहाडी तथा हिमाली भेगमा धेरै अपमान पनि भोगेको छु । सानातिना काम गर्ने मधेसी मूलका व्यक्तिहरुलाई “धोती” भनेर अलि घटिया व्यवहार गरेको मैले धेरै ठाउँमा देखेको छु ।

मेरो नामथर र ठेगानामा मात्र होइन, मेरो उमेर पनि अड्कल गरेभन्दा फरक रहेको छ । भर्खर ५० वर्ष काटेको म दुनियाँको नजरमा ६५-७० वर्षको जस्तो देखिने रहेछु । मेरै उमेरका मानिसहरुले मलाई बुबा भनेर सम्बोधन गरेको देख्दा मलाई अप्ठ्यारो लागेर आउँछ । ६० वर्ष नाघेकाहरुले पनि मलाई दाइ भनेर सम्वोधन गरेको देख्दा मन कुँडिएर आउँछ । मैले आफ्नो सही उमेर बताउदा पनि फटाहाको उपाधि पाउने रहेछु । सार्वजनिक सवारीसाधनमा पनि सबैले मलाई जेष्ठ नागरिकको सीटमा बस्न अनुरोध गर्छन् । तर म अरु मानिसलाई उठाएर बस्न भने चाहन्न । बैंकमा जाँदा पनि गार्डले सिनियर सिटिजन्सको टोकन दिन्छन् । मैले ५०-५५ वर्ष माथिका नागरिकलाई दाइ-दिदी भनेर सम्बोधन गर्दा पनि खप्की खानुपर्छ, यस्तो बूढो मान्छेले मलाई दिदी भन्ने ?  यस्तो बूढो मान्छेले मलाई दाइ भन्ने ?

मानिसहरुले मेरो बारेमा जे जस्तो कुरा गरे पनि मेरो परिचय कसले फेरेर फेरिने छैन । म पहिले जो थिएँ, उही मान्छे हुँँ र उही रहने छु । तपाईं पत्याउनुस् वा नपत्याउनुस् , मेरो वास्तविक परिचय यत्ति हो । नाम : नवराज न्यौपाने “मौन” । ठेगाना : चुँदी ,तनहुँ । उमेर : ५१ वर्ष । कसैले मिल्यो मिलेन भने पनि मसँग सबुद प्रमाण साक्षी छन् । अस्तु !