आज देशभर महाशिवरात्री पर्व मनाइँदै

आज  देशभर   महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं,१७ फागुन । महाशिवरात्री पर्व आज भगवान शिवजीको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखी भक्तजनको भीड लागेको छ ।

महाशिवरात्री आराध्यदेव भगवान महादेव अर्थात् शिवजीको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो ।देशभरका शिवालयहरुमा हर्षोलासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदैछ । शिवरात्री भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको मानिन्छ ।

हिन्दूधर्ममा कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । यिनै चार रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रूपमा रहेको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन प्रत्येक वर्ष यो पर्व मनाइने गरिन्छ । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ ।

व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिनका रुपमा शिवरात्रि पर्व मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यसै कारण पनि देश विदेशबाट भेला भएका शिवजीका भक्तजनहरुको पशुपतिनाथ मन्दिरमा विहानै देखि घुइचो लागेको छ ।