११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा इच्छाकामनामा क्षमता अभिवृद्ध तथा अन्तरकृया कार्यक्रम सम्पन्न

११२ औँ अन्तर्राष्ट्रिय  श्रमिक महिला दिवसमा  इच्छाकामनामा क्षमता अभिवृद्ध तथा अन्तरकृया कार्यक्रम सम्पन्न

कुरिनटार : चितवनको इच्छाकामनामा पनि ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको हो ।
यसबैचि गाउँपालिकाको आयोजनामा क्षमता अभिवृद्धि तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाभित्रका विभिन्न महिला संघसंगठन, महिला, आमा समूहरु, जनप्रतिनिधि लगायतको उपस्थितिमा गाउँपालिकाको प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाका महिलाहरु अग्रपंतीमा रहेको पाइएको बताउनुभयो । आफुहरु जनप्रतिनिधि भएर आएपछि गाउँगाउँमा महिला शसक्तिकरणका कार्यक्रमहरुलाई प्राथमिकता साथ सञ्चालन गरेकाले महिलाहरु जागरुक हुदैँ गएको अध्यक्ष गुरुङको भनाई छ । अहिले इच्छाकामनाका महिलाहरु कार्यक्रमहरुमा अगाडी आएर निर्धक्क भएर बोल्नका साथै आफ्ना समस्याहरु राख्न सक्ने भएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु दमन कुमारी चेपाङ र निर्मला श्रेष्ठले इच्छाकामना गाउँपालिको नेतृत्वमा पुन महिला नै आउनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको गाउँपालिका राजश्व शाखाका प्रमुख तथा यस कार्यक्रमका संयोजक रीता अर्याल नेपालले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष गुरुङ सहित उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ सिलवाल ,महिला समूहका प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो ।