प्रधान मन्त्री देउवा र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

प्रधान मन्त्री देउवा र   नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी छन् ।

भेटमा सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सम्झौतालगायतका विषयमा छलफल भएको छ । ०७७ फागुन २१ गते तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीको पालमा सरकार र विप्लव समूहबीच तीनबुँदे सम्झौता भएको थियो । विप्लव समूहले सो सम्झौता लागू हुनुपर्ने बताउँदै आएको छ । तर, सरकारको पक्षबाट भने त्यसमा थप पहल भएको छैन ।
सम्झौताको बुँदाहरूमा पक्राउ परेका विप्लव कार्यकर्ताहरू रिहाइ हुनुपर्नेलगायत छन् । सरकारको पक्षबाट उक्त सम्झौताको कार्यान्वयनमा नगएको‍ भन्दै विप्लव समूहले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।