अबदेखि मनकामना मन्दिर भित्रै पुगेर भक्तजनहरुले पूजा गर्न सकिने

गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर भित्र पुगेर सबैजनाले पूजा गर्न पाउने भएको छ। लामो समयदेखि भक्तजनले बाहिरबाटै पूजा गर्दै आएकोमा भोली चैत ३ गतेदेखि भने मन्दिर भित्रै पुगेर पूजा गर्न पाउने भएको हो।
मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ मनकामना, मन्दिरका पूजारी, स्थानीयवासी लगायतको छलफल र पहल पश्चात भक्तजनलाई मन्दिर भित्रै प्रवेश गराई पूजा गर्ने व्यवस्था गर्न लागिएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै दुई वर्षपछि बल्ल भक्तजनले मन्दिर भित्रै पुगेर पूजा गर्न पाउने व्यवस्था हुन लागेको हो। योसँगै मनकामनामा आउने भक्तजनको संख्यामा वृद्वि हुने अपेक्षा राखिएको उहाँले बकताउनुभयो ।
मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा फागुन १ गते मनकामनाका सरोकारवालाहरुको बृहत उपस्थितिमा फागुन १५ गतेदेखि मनकामना मन्दिरमा भक्तजनलाई भित्रै देखि पूजा गर्न दिने व्यवस्था गरिने भनिएको भए पनि अझैसम्म सो व्यवस्था भने हुन सकेको थिएन।
