गुरु लीलानाथ रेग्मीलाई …….संस्मरण

गुरु लीलानाथ रेग्मीलाई …….संस्मरण

तेजविलास
प्रसङ्ग – १
लीलानाथ रेग्मी सरसँगै हाम्रो भेगको साहित्य पुनः जागरणलाई एकचोटि सम्झन चाहन्छु । श्री सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा पढाउन आउनु हुने थुप्रै गुरुहरुमध्ये एक असल गुरुको सम्झनाले मलाई पटक–पटक सम्झाइरहन्छ मेरो भेगको भाषा, साहित्य र संस्कृतितर्फको यात्रा । अघिल्लो शताब्दीमा ज्यो.पं. हरिलाल शर्मा पोखरेलले गर्नुभएको योगदानको खोजी आजसम्म हाम्रो पुस्ताले गहन ढङ्गले र खोतल्न सकेको छैन । त्यसैको जगमा कवि काका कृष्णप्रसाद पोखरेलले हाम्रो बाल्यकालमै हामीमा लिखित साहित्यको बीजारोपण गरिदिनु भयो । साना–ठूला विषयमा छन्दमा सुमधुर लय दिने कृष्णप्रसाद पोखरेलकै सहकर्मी हाम्रा आदरणीय गुरु लीलानाथ रेग्मी हाम्रो माझ आज हुनुहुन्न तथापि शुक्रबारे कार्यक्रम र कक्षामा उहाँले गाउनु भएको सुमधुर स्वर आज पनि कानमा गुन्जिरहन्छ । हृदयलाई झंकृत गरिरहेको छ उहाँको गायकीले;
उकाली ज्यानको च्याप्लेटी ढुङ्गा
कान्छी मट्याङ्ट्याङ्
खेताला बिसाउने
कान्छी मट्याङ्ट्याङ्
हाम्रो त बानी हाँसखेल गर्ने
कान्छी मट्याङ्ट्याङ्
तिमी त रिसाउने
कान्छी मट्याङ्ट्याङ्
साह्रै मिठो स्वरको धनी लिलानाथ रेग्मी सरले गीत गाउँदा हामी मन्त्रमुग्ध हुन्थ्यौं । उहाँले नै सङ्कलन र स्वर दिएको गीत त यो होइन र थिएन । हाम्रोसामु यो गीत सुनाउन रेडियोले पनि भ्याएको थिएन । त्यसो त हामी यो गीत उहाँको स्वरबाट सुन्नु अघि रेडियो देख्न र सुन्न नपाउने वर्गका प¥यौं ।
प्रसङ्ग – २
मसँग गुरुको एउटा पत्र छ त्यो धेरैपछिको हो । २०६२ कार्तिक १८ गते गुरुले मलाई लेख्नु भएको पत्रले मलाई आज पनि ऊर्जा दिइरहन्छ । हाम्रो भेगको साहित्यमा पुनर्जागरण ल्याउन लागि पर्ने आदरणीय रोहिणी त्रिपाठीलाई यो प्रसङ्गमा लाख धन्यवाद दिइरहन्छु । दाजु रोहिणी त्रिपाठी आज पनि सूचना, भाषा, साहित्य र संस्कृतिको पाटोमा अभियन्ताकै रूपमा लागिरहनु भएको छ । पत्रमा मुग्लिन, वाचनालयको प्रसङ्ग र गुरुसँग मेरो साहित्य सम्बन्ध मात्र छैन जिम्मेवारी बोध गराउने धरै गुरु वाक्य रहेका छन् । पत्र जस्ताको त्यस्तै;
प्रसङ्ग–३
पातलो शरीर, गोरो वर्ण, मध्यम कद, फुर्तिलो ज्यान, नाटकीय स्वभाव बेला न बेला एकातिरको ओठको छेऊ उचाल्ने र सुस्केरा हाल्ने बानी अनि कक्षामा आउँदा चक, डस्टर र सानो छडी बोकेको दृश्य आज पनि झलझली आइरहेको छ । राम्रोसँग बुझाएर पढाउन सक्ने खुबी, अगाडि ल्याएर प्रस्तुति गराउने बानी, अल्छीलाई दण्ड दिने नीति स्पष्ट कार्यान्वयन गर्ने शिक्षकका रूपमा उहाँको परिचय मजस्ता सामान्य विद्यार्थीको मन–मस्तिष्कमा रहेको छ । अघिल्लो अनुच्छेदमा भनिसकेको छु; शुक्रबारे कार्यक्रममा उहाँको गीत, गीतलयको कविता अनि कृष्णप्रसाद पोखरेल गुरुको कविताले हामीलाई कसरी गाउने होला ? कसरी यस्तो बन्ने होला भन्ने हुटहुटी चलाइरहन्थ्यो । त्यो ऊर्जा र योगदान हामीले धेरै लिन पाएनौं । गुरुपछि त्रिवेणी बराह मा.वि. मुग्लिन जानु भयो । धेरै भेटघाट पनि भएन चालीसको दशकको त्यो घटना आज पनि ताजै छ । २०६० को प्रारम्भदेखि उहाँसँग पत्राचार हुन थाल्यो । त्यसपूर्व २÷४ चोटि भरतपुरका केही आमसभा र साहित्यिक कार्यक्रममा भेट भएको हो ।
हामीलाई साह्रै प्यारो गर्नु हुने उहाँको स्मरणशक्ति अत्यन्तै राम्रो । मधु सरको पुत्र होइन बाबु ? बुबा मधुबिलास छोरा तेजविलास भन्नुहुन्थ्यो । म गुरुको अगाडि डर हो कि प्रेमको आकर्षण भावले हो सोझो छात्र बन्थें । त्यो क्रम पछिसम्म पनि चल्यो ।
प्रसङ्ग – ४
०५८ सालमा म कीर्तिपुरमा पढ्दा भित्र प्रकाश रेग्मी भेटिनु भयो । मैले उहाँको पिता लीलानाथ रेग्मी भन्ने सुन्ने बित्तिकै गुरुको बारेमा सोधें । चितवनको साहित्यिक अभियन्ता लीलानाथ गुरु । कस्तो गौरव लाग्छ । मैले रचना आदानप्रदान गर्न थालेँ । देवकोटा स्मारिका पढाइदिएँ । केही कविता गुरुसँग मागेँ । गुञ्जन आदि पत्रिकामा प्रकाशन गरिदिएँ । पछि त झन् उत्साहित हुँदै ४÷५ ओटा कविता पठाउनु भयो । कति छापियो कति कुन–कुन सम्पादक मित्रहरूले छापे वा छापेनन् मेसै भएन । मेरो पनि कामको सिलसिलाले अस्तव्यस्त समय थियो । तथापि मित्र प्रकाशमार्फत् मैले फोन प्राप्त गरेको थिएँ । बेला–बेला संवाद हुन्थ्यो । मलाई उहाँको सरल स्वभाव र सृजनात्मक क्षमताले प्रभावित पारिरह्यो । म त्यहाँ रोहिणी त्रिपाठी र काका कृष्णप्रसाद पोखरेललाई पनि सँगै भेट्छु । म साहित्यको विद्यार्थी हूँ । म साहित्य पढ्छु । लेख्ने प्रयास गर्छु, जति प्रयास गरे पनि केही गर्न सकेको छैन । समाजमा विकृति विसङ्गति देखेर पनि लेख्न सक्दिनँ । चित्त बुझाउँछु कहिलेकाहीं गुरु लीलानाथ रेग्मी, गुरु कृष्णप्रसाद अनि रोहिणी दाइको अभियानमा सामेल भएर । अब लीलानाथ गुरुको अभावमा मैले मित्रसरह व्यवहार गर्ने प्रकाश रेग्मी दाइको साथ पाएको छु । उहाँसँग भेटघाट हुन थालेको छ । यही यात्राको एउटा यात्री मलाई ऊर्जा मिलिरहने आशा छ ।