चितवनमा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन हुने,बोलपत्र आव्हानको प्रक्रिया सुरु

चितवन : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणाधीन रहँदै सरकारले अरु दुई सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ। चितवन र इलामका लागि योजना अघि सारेको हो।
पहाड खोतलेर बनाइने सुरुङमार्गले यात्राको दुरी घटाउने भएकाले काठमाडौं-धादिङ र बुटवल-पाल्पाको सिद्धबाबा जसरी नै चितवन र इलामका लागि पनि आयोजना अघि बढाउने तयारी सडक विभागको छ। सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरेको छ।
विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै शक्तिखोर-मझिमटार (चितवन) र सुनमाई-राजदुवाली (इलाम) सुरुङमार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका लागि ठेक्का आह्वान गरेको हो।
केन्द्रका अनुसार यी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि एकल अथवा जेभी परामर्शदाता कम्पनीहरुले आफ्नो आवेदन दिन सक्नेछन्। यदि जेभी भएमा ३ वटा परामर्शदाता कम्पनीहरु सहभागी भएको हुनुपर्नेछ। सम्भाव्यता अध्ययनपछि प्रस्तावित सुरुङमार्गको लागत कति हुने भन्ने प्रष्ट हुनेछ।
चितवनको शक्तिखोरदेखि पृथ्वीराजमार्गको मझिमटारसम्म सुरुङमार्ग निर्माणका लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमै रकम विनियोजन गरिएको थियो। अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने योजना सरकारले केही ढिला गरी अघि बढाउने भएको हो। यो आयोजना निर्माण भएपछि चितवनबाट काठमाडौंको दुरी छोट्टिने छ।
अप्ठ्यारो र घुम्ती सडकहरुको दुरी छोट्याइ सवारी आवागमन सहज बनाउन पहाड र भीरहरु प्वाल पारेर सुरुङ निर्माण गरिन्छ। यसले इन्धन र समयको बचत गराउँछ। विकसित देशहरुमा सयौं वर्षअघि देखि सुरुङमार्ग प्रयोगमा रहे पनि नेपालमा भने बल्ल निर्माण हुन थालेको हो।
देशका झन्डै एक दर्जन स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको छ। कुनैको डीपीआर बनाउने प्रक्रिया चल्दैछ भने कुनैको भौगोलिक अध्ययन भइरहेको छ।
काठमाडौं उपत्यका आउजाउको मुख्य नाका नागढुंगामा नौबिसे जोड्नेसँगै पाल्पाको सिद्धबाबा र काठमाडौं-तराई मधेस द्रुतमार्गमा सुरुङ निर्माण कार्य भइरहेका छन्। जापानी निर्माण कम्पनीले ठेक्का पाएको नागढुंगा-नौबिसेमा काम धमाधम भइरहेको छ भने सिद्धबाबामा भर्खरै प्रक्रिया अघि बढेको छ।
काठमाडौं-तराई द्रुत मार्गमा तुलनात्मकरूपमा साना सुरुङमार्ग हुनेछन्। निर्माणका लागि सेनाले व्यवस्थापन गरिरहेको छ। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाली प्राविधिकलाई सुरुङमार्गको प्रविधिबारे तालिम र जानकारी दिने प्रक्रिया पनि अघि बढेको छ। यसको अनुभवले अन्य यस्तै परियोजना अघि बढाउन सडक विभागका अधिकारीहरुको तयारी छ।
जहाँ जहाँ धेरै लामो र घुमाउरो सडक निर्माण गर्नुपर्ने देखिएका छन्, ती ठाउँमा कम खर्चमा सुरुङमार्ग निर्माणबारे प्राविधिकहरुले अध्ययन पनि अघि बढाएका छन्।
