इच्छाकामनाको तल्लो काउलेमा बिजुली पुग्यो, स्थानीयको उज्यालो सपना पुरा

चितवन : इच्छाकामना गाउँपालिका–२ स्थित तल्लो काउलेमा विद्युतीकरण विस्तार गर्न निर्माण गरिएको ११ केभी गजुर–काउले वितरण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पर्याउनका लागि धादिङको गजुरेदेखि निर्माण गरेको लाइन सञ्चालनमा आएको हो ।
मंगलबार जडान भएको ट्रान्सफर्मरमा बत्ती बालेर उद्घाटन गरिएको छ । प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंह र धादिङ वितरण केन्द्र प्रमुख माधव न्याउपाने र पालिका अध्यक्ष गीता कुमारी गुरुङले स्वीच थिचेर सेवा सुरु गरेका छन् ।
धादिङको सीमा जोडिएको दुर्गम गाउँमा पहिलो पटक विद्युतीकरण गरिएको सिंहले बताए । उनका अनुसार समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको गाउँमा विद्युतीकरण गरिएको हो ।
‘धादिङसँग सीमा जोडिएको भए पनि यो गाउँमा अहिलेसम्म विद्युत पुग्न सकेको थिएन,’ उनले भने, ‘हामीले विद्युतीकरण गरेपछि स्थानीय हर्षित भएका छन् ।’ भोली ९बुधबार० देखि विद्युत मिटर वितरण गरिनेछ ।
यो गाउँमा विद्युतीकरण विस्तार भएपछि करिब २ सय घरधुरीले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउने सिंहले जानकारी दिए । गाउँमा विद्युत पुर्याउन करिब १५ किलोमिटर लामो ११ केभी लाइन निर्माण गरिएको छ ।
गाउँमा विद्युतीकरण विस्तार गरेपछि भरतपुरबाट रेखदेख गर्न दुरीका हिसाबले टाढा पर्ने हुँदा धादिङ वितरण केन्द्रले गर्ने पनि सिंहले बताए । समस्या आएमा भरतपुरबाट प्राविधिक टोली पठाएर मर्मत सम्भार गर्न समय लाग्ने देखिन्छ । यही कारण यस क्षेत्रको जिम्मेवारी धादिङ वितरण केन्द्रले लिनेछ ।
गाउँपालिकाकै चेपाङ बस्तीमा सामुदायिक विद्युतीकरणबाट विद्युत सेवा विस्तार गर्न जनमुखी कस्ट्रक्सन प्रालीले ठेक्का पाएको छ । ठेकेदारले काम नगर्दा चेपाङ बस्ती अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको पनि सिंहले बताए । मर्स्याङदी सामुदायिक संस्था अन्तर्गत विद्युतीकरण गर्न ठेक्का पाएको सुर्दशन बिष्टले विगत ४ वर्षदेखि काम नगरेको संस्थाका प्रबन्धक कुमार श्रेष्ठले बताए ।
बस्तीमा विद्युत सेवा पुर्याउन २०७४र७५ मा नै ठेक्का सम्झौता भएको थियो । करिब ६ करोड ६६ लाखमा विद्युतीकरण विस्तार गर्ने गरी सम्झौता भएको विभागले जानकारी दिएको छ ।
