नेपाली कांग्रेस भरतपुरका २९ वटै वडाका सभापतिहरु भन्छन् : हामी गठबन्धन मान्दैनौँ

नेपाली कांग्रेस भरतपुरका   २९ वटै वडाका  सभापतिहरु भन्छन् :  हामी गठबन्धन मान्दैनौँ

चितवन : भरतपुर महानगरपालिकाको २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफुलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर्णयसंग मेल खाने भन्दै निर्णय हुबहु केन्द्रमा पठाउने प्रतिवद्धता जनाए ।
केन्द्र, जिल्ला र महानगरले गठवन्धन गर्ने निर्णय गरेपनि वडा सभापतिहरु कुनै पनि गठवन्धनको पक्षमा नरहने निश्कर्षमा पुगेका छन । गत चैत्र २० गते ५ दलीय गठवन्धन अनुसार नै तालमेल गर्ने निर्णयमा पार्टी समेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन । वडा सभापतिहरुको संयुक्त निर्णय विपिरित गठवन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उमेदवार खडा गर्ने चेतावनी उनिहरुको छ । साथै वडा सभापतिहरुले आफुहरुले भनेको नभए गठवन्धनका सबै उमेदवारहरुलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन । बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो