तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ :  आसन्न स्थानीय तह निर्वाचनको तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन् ।

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेर दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ । सोमबार दिनभर छलफलमा जुटे पनि दलहरुबीच सहमति हुन सकेन ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बिहान साढे ११ बजे सुरु हुने छ । हिजोको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

६ ओटा महानगरमध्ये ५ ओटामा लगभग सहमति भइसकेको नेताहरुको दाबी छ । तर, पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले आफ्नो दाबी नछोडेका कारण सहमति हुन सकेको छैन ।

एकीकृत समाजवादीले तालमेल गरेर जाने निर्णय भइसकेपछि पोखरा महानगरपालिकाको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ भने उता नेपाली कांग्रेसले पनि आफ्नो पार्टीले नै पाउनुपर्ने दाबी गरिरहेको छ ।