इच्छाकामनामा गठबन्धन अझै अलमलमा : एमालेको चुनावी अभियान तीब्र

कुरिनटार,१० बैशाख । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामनामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । उपाध्यक्षको उम्मेद्वार टुंगो नलागे पनि अध्यक्षको उम्मेद्वारीका लागि सर्वसम्मत दान बहादुर गुरुङलाई चयन गरेको एमालेले चुनावी अभियानलाई तीब्र पारेको हो ।
घरदैलो कार्यक्रम समेत सुरु गर्नुभएका एमालेका उम्मेद्वार गुरुङले घोषणापत्रका लागि विभिन्न विषयमा विज्ञ र स्थानीयहरुबाट सुझाव संकल कार्य समेत गरिरहनुभएको छ ।
सत्तारुढ गठबन्धन अझै अलमलमा
यसैबिच सत्तारुढ गठबन्धन भने अझै अलमलमा छ । जिल्लाको निर्णयप्रति कांग्रेसले असहमती जनाएको छ । काँग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ र माओवादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेद्वारी दिने गरि सहमती जुटेको छ । तर कांग्रेस इच्छाकामनाले माओवादीलाई उपाध्यक्ष सहित ३ वटा वडा दिने निर्णयकोे विरोध जनाएको छ । कांग्रेस र माओबादी केन्द्र दुबै दलले आफ्नो उम्मेद्वार केही वडामा मात्र टुंगो लगाउन सकेको छ । अध्यक्ष उपाध्यक्ष र बाँकी वडाको उम्मेद्वार टुंगो लगाउन नसक्दा दुबै दलले चुनावी अभियानको सुरु गर्न सकेको छैन ।
गठबन्धनका कारण अलमलमा परेका कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुमा निर्वाचनको कुनै उत्साह छाएको छैन ।
स्वार्थका लागि बनेको गठबन्धनप्रति चिन्ता लिनुपर्दैन, अत्याधिक बहुमतले चुनाव जित्छौँ : गुरुङ
यसैबिच नेकपा एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले विकासका लागि भन्दा पनि स्वार्थका लागि बनेको गठबन्धनको नेकपा एमालेले कुनै चिन्ता नलिएको बताउनुभयो । आफ्नो उम्मेद्वारीको विषयमा सुझाव संकलन गर्न आज कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले विकासका लागि नभई स्वार्थका लागि बनेको गठबन्धन भएकाले चिन्ता नरहेको बताउनुभएको हो । जनताको लागि राम्रो काम गर्छु भन्ने नेकपा एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएकोले चिन्ता नलिन गुरुङको भनाईछ ।
‘हामी जनताका लागि राम्रो काम गर्छौ भनेर आएका हौ यसैले हामीलाई रोक्न छेक्नका लागि गठबन्धन भएको हो’ –उहाँले भन्नुभयो ‘गठबन्धनको सन्दर्भमा हामीले चिन्ता लिनु पर्दैन जनताले हामीलाई रुचाउनेछन् र भोट हाल्नेछन’।
विपक्षीले निर्वाचनमा आफु सत्तामा टिकिराख्नका लागि जनतासँग जान डराएर गठबन्धन गरेको भन्दै यस्ता गठबन्धनले कार्यकर्ता र जनता कोही खुशी नभएको उहाँले बताउनुभयो । यसैले पनि यसपटकको निर्वाचनमा एमाले र एमालेका उम्मेद्वारलाई अत्याधिक बहुमतका साथ जनताले जिताउने उहाँको दाबी छ ।
उहाँले ईच्छाकामनाका विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको बताउनुभयो। शासक नभएर सेवक हुने प्रण गरेका गुरुङले शिक्षालाई सिपमा परिवर्तन गरे मात्र समग्र ईच्छाकामनाको विकास हुने बताउनुभयो ।
प्रेस चौतारी चितवन शाखाको आयोजनामा “ईच्छाकामना विकास र समृद्धिः नागरिक अपेक्षा” विषयक अन्तरक्रिया अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको थियो ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटिका सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणि सापकोटा, एमाले प्रचार प्रसार विभाग चितवनका प्रमुख रविकिरण पौडेल, एमाले ईच्छाकामना पार्टी कमिटीका अध्यक्ष कृष्णप्रसाद सिलवाल लगायत पत्रकार एवं सरोकारवाला उपस्थित रहनुभएको थियो ।
