धादिङमा कार र बस ठोक्किदाँ पाँच जनाको मृत्यु

धादिङमा कार र बस ठोक्किदाँ पाँच जनाको मृत्यु

धादिङ,११ बैशाख । धादिङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारमा सवार चार भारतीय र कार चालकको मृत्यु भएको हो।

काठमाडौंबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो। मृत्यु हुनेमा भारत उत्तरप्रदेशका भारतको उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन्। उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ वर्षका छन्।

विमलचन्द्रको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने साधना, सन्ध्या र राकेशको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए। नेपाल आएको टिकटमा उल्लेख भएअनुसार भारतीय चारै जना एउटै गाउँका हुन्। एउटै परिवारको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा कार चालक तनहुँका दिलबहादुर बस्नेतको पनि मृत्यु भएको छ। चालक बस्नेतको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको सिसिटिभी क्यामेरामा कैद भएका दृष्य हेरेर अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका इनिस्पेक्टर अपूर्व ढुंगानाले बताए।

सामान्य घुम्ती र उकालो बाटोमा कारले ट्याक्सीलाई उछिन्ने क्रममा बसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौ फर्कदै थिए। सोमबार काठमाडौबाट दिल्ली जाने टिकट समेत भारतीय नागरिकको साथमा फेला परेको प्रहरीले जनाएको छ।