काँग्रेस केन्द्रीय सदस्य गुरुङ गठबन्धनकोे पक्षमा

काँग्रेस केन्द्रीय सदस्य गुरुङ गठबन्धनकोे पक्षमा

चितवन :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ् पार्टी निर्णयको पक्षमा देखिएका छन् । केही दिन अगाडि सम्म काँग्रेस बाट विद्रोह गरि बागी उम्मेद्वार दिएका जगन्नाथ पौडेलको पक्षमा रहेको मानिएका केन्द्रीय सदस्य गुरुङ एकाएक गठबन्धनको पक्षमा देखिएपछि नेपाली काङ्ग्रेस चितवनका असन्तुष्ट समुह सम्हालीन थालेको छ ।
नेपाली काँग्रेस समग्र पार्टी पङ्ती गठबन्धनको पक्षमा लाग्न थालेपछि बागी उम्मेद्वार पौडेलले आफु एक्लिएको अभिव्यक्ति दिन थालेका छन् । आफ्ना उम्मेद्वार भन्दा बिद्रोही उम्मेद्वार पौडेलको पक्षमा वकालत गरेर नथाक्ने नेकपा एमालेको एउटा पङ्तीभने यतिवेला निराश बन्न थालेको छ ।
अघिल्लो स्थानिय तहको निर्वाचन २०७४ मा माओवादीलाई काङ्ग्रेसले सहयोग गरेको र अहिले काङ्ग्रेसलाई सहयोग गर्नुपर्ने भन्दै असन्तुष्ट वनेका काङ्ग्रेसी नेता कार्यकर्ता केन्द्रले तालमेल गरे संगै सम्हालीन लागेका हुन । उम्मेदवार तय नहुँदै काङ्ग्रेस चितवनले आफ्नो निर्णय गरेको भए पनि अहिले काङ्ग्रेस चितवन गठवन्धनबाट प्रमुखको उम्मेद्वार बन्नु भएकी रेनु दाहाललाई बिजयी वनाउन कम्मर कसेर लागेको छ । त्यसो त आफ्नो पार्टीको उम्मेद्वार पाउने दाबी गर्दै आएको चितवन काँग्रेस नेतृत्वले उम्मेद्वार टुङ्गो नलाग्दा सम्म सहयोग गर्न नसक्ने बताउँदै आएको थियो । त्यसको नेतृत्व जिल्ला सभापति राजेश्वर खनाललेनै गरेका थिए । खनाल अहिले पनि भन्छन, हिजो हामीले प्रमुख पदको दाबी गरेको अवस्था थियो, हामी त्यसै भन्ने गर्दथ्यो तर, अहिले निर्णय भइसकेपछि गठबन्धनका सबै उम्मेद्वार एउटै हुन । उनले मञ्चहरुमा गठवन्धनलाई मतदान गर्न अपिल मात्रै गरेका छैनन् असन्तुष्ट पक्षलाई मूलधारमा फर्काएर र गठवन्धनलाई बिजयी गराउन पनि तल्लिन छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ यतिवेला प्रतिगमनको विरुद्ध उत्रनु पर्ने अवस्था आएको बताउँछन् र भन्छन, “केपि ओली सरकारको प्रतिगमनको बिरुद्ध, संविधान र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठवन्धनलाई निर्वाचित गराउन आवस्यक छ ।” उनी हिजोको अवस्था र अहिलेको अवस्थालाई दाज्दै भन्छन,“हिजो टिकट बितरणमा दबाब दिइएको हो । पार्टीले निर्णय गरे पछि त्यसको पछि हिड्नु पर्ने हुन्छ ।” उनको भनाईको आसय थियो ‘पाँच दशक भन्दा लामो पार्टी जीवन एउटा निर्णयमा सहमत नहुँदैगर्दा समाप्त पार्न चाहिन ।’ टेकप्रसाद गुरुङ मात्र होइन टिकट बितरण अघि चोक चोकमा गठवन्धनको बिरुद्धमा लाग्ने धेरै चितवनका काँग्रेसी नेताहरु यतिवेला गठवन्धनको लाइनमा आई सकेका छन् ।
भरतपुर महानगर संगै सत्ता गठवन्धनले जिल्लाका सातै पालिकामा तालमेल गरेको छ । भरतपुर महानगर र माडी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेपाल कम्युनिष्ट पार्टी (समाजबादी)को नेतृत्वमा निर्वाचन हुँदै छ भने, जिल्लाका एक मात्र गाउँपालिकासहित चार वटा स्थानीयतहमा नेपाली काँग्रेसले गठबन्धनको तर्फबाट नेतृत्व गरेर चुनावी प्रतिस्पर्धामा छ ।