विकास निर्माण र अग्रगमनको पक्षमा पेशाकर्मी बुद्धिजीवीहरु

विकास निर्माण र अग्रगमनको पक्षमा पेशाकर्मी बुद्धिजीवीहरु

भरतपुर, २३ बैशाख । चितवनका पेशाकर्मी बुद्धिजीवीहरुले भरतपुर महानगरको बिकाससँगै संविधानको संरक्षणमा चिन्ता व्यक्त गरेका छन् ।
भरतपुर महानगरपलिकाका विभिन्न चोक चोकमा पुगेर शुक्रबार अनौपचारिक कार्यक्रममार्फत् पेशाकर्मी एवं बुद्धिजीवीहरुले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनीहरुले विकास र समृद्धिको पक्षमा मतदान गर्न, संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अनुरोध गरेका छन्।
कोणसभाको रुपमा गरिएको उक्त कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा ईश्वरीप्रसाद ढकालले मौलिक अधिकार र संविधानलाई धरापमा पार्ने गरी मतदान नगर्न अनुरोध गरे । उनले पाँच दलीय गठबन्धनले देशलाई प्रतिगमनतर्फ जाने कार्यमा रोकेको हुँदा पाँचदलीय गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे । उनले भने, ‘लोकतन्त्र रक्षाको लागि हामीले गोलाकारभित्रको हँसियाहथौडा चिन्हमा मतदान गरि महानगर प्रमुखमा रेनु दाहाल र रुख चिन्हमा मतदान गरि उपप्रमुख चित्रसेन अधिकारीलाई जिताउनु छ ।’
सोही कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्टार प्राडा भीमराज अधिकारीले पनि रेनु दाहाल र चित्रसेनलाई जिताउनु भनेको सच्चा लोकतन्त्र र गणतन्त्र पक्षधरलाई जिताउनु भएको बताए। महानगरको विकास र समृद्धि गर्न र देश बचाउनु छ भने संविधानमा भएका व्यवस्थालाई अनुशरण गनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी पब्लिक क्याम्पस प्राध्यापक संगठनका उपाध्यक्ष डा. अनन्त ढुंगानाले जसले बच्चालाई जन्म दिन्छ त्यसले बच्चाको सबैभन्दा बढी माया गर्छ भनेजस्तै वर्तमान संविधान निर्माणमा जुन जुन शक्ति लागेर बनेको हो त्यही शक्तिलाई जिताउन आवश्यक रहेको बताए । किनकि हामीले संविधान बचाउनु छ । ढुंगानाले पनि किटानी गरेर रेनु दाहाललाई महानगरको प्रमुखमा र चित्रसेन अधिकारीलाई उपप्रमुखमा जिताएको खण्डमा संविधानको मर्म र मान्यता अनुसार हुने बताए ।