दलबीचको सहमतिपत्र अनुसार मुख्यमन्त्री बन्ने पालो कांग्रेसको- कैलाश कोइराला (बागमती प्रदेश सम्पादन समितिका सदस्य)

चितवन, बागमती प्रदेशको मुख्यमन्त्रीमा दलबीच भएको सहमतिपत्र सार्वजनिक भएको छ । एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिपत्र सार्वजनिक भएको हो । सहमतिपत्रमा राजेन्द्र पाण्डेले अब मुख्यमन्त्री छोड्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धनको भागबन्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो। सोही अनुसार पाण्डे मुख्यमन्त्री भए।
प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
त्यस्तै एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक-एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ।
२०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशमा मुख्यमन्त्री बनेका थिय। सहमतिपत्रमा हेर्ने हो भने उनी ९ महिनाका लागि मात्र मुख्यमन्त्री बनेका हुन् । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय मुख्यमन्त्री पाउने सहमति भएको र अब मुख्यमन्त्री पाण्डेको समय सकिएकोले अब नैतिकताको हिसाबले पनि पाण्डेले बानियाँलाई मुख्यमन्त्रीकाे कुर्सी सुम्पनुपर्ने नेपाली कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन सदस्य कैलाश कोइरालाले बताउनु भयो ।
सहमतिपत्रमा एकीकृत समाजवादीबाट मुख्यमन्त्री पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले हस्ताक्षर गरेका छन् ।
