इच्छाकामनाको बेरुजु १ करोड ४१ लाख १८ हजार

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाको बेरुजु रकम १ करोड ४१ लाख १८ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाले खर्च गरेका रकम मध्य उल्लेखित रकम अनियमित तरिकाले खर्च गरिएको भन्दै बेरुजु देखिएको हो।
गाउँपालिकामा १ अर्ब ५० करोड ८ लाख ५२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा सो रकम बेरुजु देखिएको छ । प्रतिशतका आधारमा भन्नुपर्दा ०।९४ प्रतिशत रकम बेरुजु देखिएको छ । उक्त आर्थिक वर्षमा चितवनको ७ स्थानीय तह मध्य बेरुजु देखिनेमा इच्छाकामनाको स्थान ५ मा छ ।
महालेखा परिक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै स्रोतको आकलन, राजस्व सङ्कलन, विकास निर्माण एवं सेवा प्रवाहमा स्थानीय तहले सम्पादन गरेका काम कारबाहीको विश्लेषण गर्दा कानून निर्माण र सोको परिपालना, जिम्मेवारी र जवाफदेहिता वहन, सार्वजनिक सम्पत्ति र स्रोतको उपयोग, सार्वजनिक निर्माण, सेवा प्रवाह र प्रतिवेदन प्रणालीमा सुधार गरी वित्तीय अनुशासन पालना गराउन सुझाव दिएको छ ।
स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधारबेगर राजस्व छुट दिएको, राजस्व बक्यौता असूली लक्ष्यअनुसार नभएको, बजेट अनुशासनको पालना नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक आयव्ययको कार्य प्रचलित कानुनीविधि प्रक्रिया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रुपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलम हो ।
