पदक पाउने चितवनका करातेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान

चितवन : केही दिन अघिमात्रै सम्पन्न प्रदेशस्तरीय कराते र जिल्ला स्तरीय कराते प्रतियोगितामा पदक प्राप्त गर्ने चितवनका खेलाडीसहित प्रशिक्षकलाई सम्मान गरिएको छ । आज भरतपुरमा नेपाल कराते संघ टेक्निकल समिति चितवनले जिल्लाबाट राष्ट्रिय तथा प्रदेश स्तरीय प्रतियोगितामा पदक पाउने खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो ।
राष्ट्रिय प्रतियोगितामा दोस्रो हुने खेलाडी प्रजिस्मा श्रेष्ठलाई नगद रु तीन हजार, तेस्रो हुने पार्वती गुरुङलाई रु दुई हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरिएका हो । त्यस्तै प्रदेश स्तरीय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीहरु इभान आचार्य, मोहमद फरहाना र अन्जन थिङलाई रु एक हजार तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । सो कार्यक्रममा प्रशिक्षकहरु रफी मियाँ अन्सारी, दुर्गा कुमाल, अनिल उपरकोटी तथा टिम म्यानेजर रुद्र गुरुङलाई समेत प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
सो कार्यक्रममा भरतपुर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले आफूहरु खेलकुदको प्रवद्र्धनमा लागेको बताउनुभयो । गरिब तथा विपन्न परिवारका खेलाडीका लागि प्रशिक्षणमा जानका लागि साइकल उपलब्ध गराउन भरतपुर महानगरपालिकामा प्रस्ताव पेस गरेको श्रेष्ठको भनाइ छ । नेपाल कराते संघ टेक्निकल समिति चितवनका अध्यक्ष टार्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व राखेप प्रशिक्षक रमेश श्रेष्ठ, अमर श्रेष्ठ, नेपाल कराते महासंघ केन्द्रीय कमिटीका तीर्थराज श्रेष्ठसहितको सहभागिता रहेको थियो ।
