एसईईको नतिजा सार्वजनिक , नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए

काठमाडौं,११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।
परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।
नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।
एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २।४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।
एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।
