अविरल बर्षासगैँ इच्छाकामना ७ स्थित थानखोलामा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

कुरिनटार : गएराति देखि परेको अविरल वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित थानखोलामा रहेको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएसँगै इच्छाकामना गाउँपालिका ७ स्थित भालुमारा, सुन्दरवस्ती हुदै कालिका नगरपालिका निस्कने सडकमा यातायात अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै स्थानीयलाई नजिकको बजार पुग्नलाई असहज भएको इच्छाकामना गाउँपालिका ७ का वडाध्यक्ष विजय थापाले जानकारी दिनुभयो । बाढीले ६ वटा ह्युम पाइप राखेर बनाइएको डाइभर्सनको छेउपट्टिको भाग बगाइदिएको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षासँगै उक्त वडामा रहेका विभिन्न खहरे खोलाहरुमा पानीको मात्रा बढ्दा जोखिम बढेको छ ।यस्तै बाढिले थानखोलाको डाइभर्सन बगाएर सडक अवरुद्ध बनाएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तत्कालै स्थलगत अवलोकन गर्नुभएको छ । क्षतिग्रस्त स्थलको अवलोकन पश्चात वर्षा रोकिए र बाढी कम हुने वित्तिकै तत्काल डाइभर्सन निर्माण गरी अस्थायी रुपमा सडक संचालन सुरु गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । यो स्थानमा वर्षा हुने वित्तिकै सधै समस्या उत्पन्न हुने हुदाँ आगामी दिनमा स्थायी समाधान खोजिने उहाँले बताउनुभयो ।
खहरे खोलाहरुमा राखेको डाइभरर्सन हरेक बर्ष बगाउँदा बर्षायाममा गाउँपालिकाको कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जानका लागि वडा नम्बर ७ का बासिन्दाहरुले शास्ती बेहोर्नु परेको छ ।
