इच्छाकामनामा दशैं अघि नै अस्पताल संचालन गरिने

कुरिनटार : चितवनको गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागी तयारी तीव्र पारिएको छ । अस्थायी रुपमा अस्पताल संचालन गर्ने निर्णय भएबमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो।
जस अनुरुप गाउँपालिकामा नयाँ डिजिटल एक्स–रे मेसिन आईपुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो।
अस्पताल संचालनको लागि आवश्यक सामाग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीलाई आग्रह गरेका थिए ।सोहि बमोजिम गाउँपालिकालाई मन्त्रालय मार्फत डिजिटल एक्स–रे मेसिन आईपुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालका लागि आवश्यक बेड, मोनिटर, औषधी लगायतका अन्य सामाग्रीहरु पनि मन्त्रालयले उपलब्ध गराएकोले आउने क्रममा रहेको छ।
अस्पतालका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु आए पश्चात गाउँपालिकाले भदौ मसान्त भित्रमा चिकित्सकको नियुक्ती गरि आवश्यक प्रक्रिया पु¥याई १५ बेडको इच्छाकामना अस्पताल संचालन गरिनेछ भने अस्पतालका लागि तत्काल २ जना चिकित्सकको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा संचालन गरिनेछ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा संचालन गरिनेछ ।
इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामना सहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिनसक्छ । यस्तै काठमाडौँ भित्रने र बाहिरीने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
