लोकदोहोरी गायक सुमन आलेमगरको निधन

चितवन ,१४ भदौ । चितवनका लोकदोहोरी गायक एवं सर्जक सुमन आलेमगरको अल्पायुमै निधन भएको छ। लामो समयदेखि मुटु र मृगौला रोग सम्बन्धि समस्यासँग जुधिरहेका मगरको सोमबार राति १ः१० भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।
वि.सं २०४३ साल भदौ १९ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ७ दाहाखानीमा जन्मिएका गायक मगरले गीतसंगीतसँगै मूल पेसाको रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।
मगर दाहाखानीमा जन्मिए पनि ठिमुरामै अस्थायी बसोबास गर्दै आएका थिए। गायक÷सर्जक एवम् शिक्षक मगरको परिवारमा बुबा–आमा, एक श्रीमती, एक छोरी र एक नाबालक छोरा छन्।
गीत लेखन र गायनमा जमेका करिब दशकअघिदेखि नै गायन क्षेत्रमा सक्रिय रहँदै आएका मगरको ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘सलल बग्यो गण्डकी’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’लगायतका दर्जन बढी गीतमा सिर्जना गर्नुका साथै आवाज भरेका छन्।
