भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु, प्रचण्डद्धारा शिलान्यास

भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु,  प्रचण्डद्धारा शिलान्यास

चितवन, १८ भदौ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्रणालीको गुणस्तर वृद्धि गर्नुको साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनु मात्र नभएर सहरको सौन्दर्यकरणको लागि उक्त परियोजना शुरु गरिएको बताउनुभयो । उहाँले भरतपुरको विकास समग्र देशका अन्य सहरको लागि नमूना बनाउन सकिने दाबी गर्दै विद्युत वितरणमा गरिने उक्त कार्यले समृद्ध भरतपुरको योजनालाई थप मद्दत पुग्ने बताउनुभयो ।

उहाँले विकास र सुरक्षासँग सम्बन्धित रहेको उक्त परियोजना युटिलिटी कोरिडोर अर्थात् विद्युतसँगै अन्य केबुलहरुलाई पनि भूमिगत गर्ने परियोजना रहेको आफूले जानकारी पाएको बताउनुभयो । भरतपुर र पोखरा महानगरपालिकाका मुख्य सडक क्षेत्रका लागि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी र एसियाली विकास बैंकको ऋण सहयोगमा उक्त परियोजना शुरु भएको हो ।

परियोजनाको लागत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको तर्फबाट ४९ करोड ६८ लाख ३१ हजार र एसियाली विकास बैंकको एक करोड ६७ लाख २० हजार अमेरिकी डलर गरी झण्डै दुई अर्ब ६० करोड नेपाली रुपियाँ रहेको छ । परियोजना भारतको टाटा प्रोजेक्टले स्न २०२४ को जनवरी १९ मा सक्नेगरी २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरिसकेको छ ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुर नयाँ विकास हुँदै गरेको सहर भएका कारण यसलाई नमूनायोग्य सहर बनाउन सहज रहेको बताउनुभयो । उहाँले आफू कार्यकारी निर्देशक बन्दादेखि हालसम्म आउँदा नेपालको विद्युत विकासबारे जानकारी गराउनुभयो ।