सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न चेपाङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनिय छ : अध्यक्ष विवेक

विशालटार : धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले चेपाङ समुदायको उत्थान, विकास र समृद्धिका लागि गाउँपालिका सधै प्रतिबद्ध रहको बताउनुभएको छ । चेपाङ समुदायको महान् पर्व न्वागी .(छोनाम) पर्व २०७९ को शुभकामना दिदैँ अध्यक्ष विवेकले यस्तो बताउनुभएको हो ।
शुभकामनामा भनिएको छ, बेनीघाट रोराङ्ग गाउँपालिकामा मनाइने विभिन्न चाडपर्वहरुले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संबद्र्धन गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न समेत चेपाङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनिय छ । बहुजातिय, बहु–भाषिक, बहु– धार्मिंक र बहु– सांस्कृतिक राष्ट्रको रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङ्गको रुपमा चेपाङ संस्कृति रहेको छ । न्वागि (छोनाम) जस्ता पर्वहरुले सबै नेपाली बिच वन्धुत्व, आपसी एकताको भावना बढाउन मदत गरेको छन् ।
साथै अध्यक्ष विवेकले चेपाङ समुदायको उत्थान,विकास र समृद्धिको लागि गाउँपालिका सधैँ प्रतिवद्ध रहने विश्वास दिलाउँदै यस पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिक रुपले समृद्ध बेनिघाट रोराङ्ग गाउँपालिका निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
चेपाङ समुदायले भोली भदौ २२ गते न्वागी (छोनाम) पर्व मनाउँदै छ । चेपाङ समुदायको यस पर्वको अवसरमा वागमती प्रदेश सरकारले चेपाङ बाहुल्यता रहेको जिल्लाहरु चितवन , मकवानपुर र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
यसैबिच गोरखाको गण्डकी गाउँपालिकाले पनि न्वागीका दिन चेपाङ जातीलाई सार्वजनिक विदा दिने निर्णय गरेको छन् ।
