गण्डकी गाउँपालिकाद्वारा तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना

गण्डकी गाउँपालिकाद्वारा तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना

भुम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकाले वडा नम्बर ६ स्थित तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना गरेको छ । केही दिन अघिको कार्यपालिका बैठकले निर्णय गरेर आज देखि तोमन डाँडामा कार्यालयको मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना साकारले मुख्य सेवा केन्द्रकोे उद्घाटन गर्नुभयो ।
सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले जनताको सहजताका लागि छिटो छरितो सेवा प्रदान गर्न सबै वडाका बासिन्दाका लागि सहज हुने तोमन डाडाँमा मुख्य सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । यस निर्णयले आम गण्डकी गाउँपालिका वासी खुशी भएको बताउनुभयो ।
अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘गण्डकी गाउँपालिकाको स्थानिय सरकारले जनतालाई सजिलो छिटो र छरितो सेवा प्रदान गर्न प्रशासनिक भवन नबन्दा पनि सबै वडाका बासिन्दालाई सहज हुने तोमन डाडाँमा स्थापना गरेका हौ । आज गण्डकी गाउँपालिकाका जनता सकरात्मक रहेको हामीले बुझेका छौँ ’ । सबै पार्टीका नेतृत्वहरु समेत यस निर्णयको समर्थनमा भएको बताउनुभयो ।

साथै उहाँले फिस्लिङबाट गण्डकी गाउँपालिकाको सम्पूर्ण भूगोल जोड्दै शहिद लखन जोड्ने सडकमा सार्वजनिक बस सञ्चालन गर्ने बताउनु भयो । ‘फिस्लिङबाट गण्डकी गाउँपालिकाको सम्पूर्ण भूगोल जोड्दै सहिद लखन जोड्ने सडकमा सार्वजनिक बस सञ्चालन गर्न हाम्रो सपना छ, यो सपनालाई पुरा गर्नका लागि सार्वजनिक बस सञ्चालन गर्ने योजना बनाएका छौँ, रातको दुई गुना दिनको चौगुना हिड्नुपर्छ भन्ने कुरा कार्यपालिकामा छलफल भएको थियो, सोही अनुरुप अघि बढीरहेका छौँ ’ । जनतालाई घरघरमा सिंंहदरबार आएको महशुस गराउने उहाँको भनाई छ ।
प्रयोगमा नआएको तोमन डाँडा मा वि को विद्यालय भवनमा कार्यालय सञ्चालन सुरु गरिएको हो ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा अध्यक्ष तिमल्सिना सहित उपाध्यक्ष ललिता अधिकारी, वडा अध्यक्षहरु सहित जनप्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष तिमल्सिना प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी लगायतले मन्तव्य राख्नु भएको थियो ।
योजना शाखाका प्रमुख गोपी कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।