दशैँमा घर–घरमा सामाजिक सुरक्षा भत्ता लिएर जनप्रतिनिधि पुगेपछि बृद्धबृद्धाहरु खुशी

दशैँमा घर–घरमा सामाजिक सुरक्षा भत्ता लिएर जनप्रतिनिधि पुगेपछि बृद्धबृद्धाहरु खुशी

कुरिनटार :  दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा जनप्रतिनिधिहरु पुगेपछि इच्छाकामना ४ का बृद्धबृद्धाहरु खुशी भएका छन् । आज वडाध्यक्ष रुद्रप्रसाद उप्रेती सहित जनप्रतिनिधि,वडा सचिव र ग्लोबल आईएमई बैंकका  कर्मचारीहरु विभिन्न टोलटोलमा पुगेर भत्ता वितरण गरेपछि उनिहरु खुशी भएका हुन् ।
भत्ता लिन बैँक सम्म जान आफुहरुलाई गाह्रो हुने र लाइन समेत बस्नु पर्ने समस्याबाट मुक्त भएको भन्दै उनिहरुले खुशी व्यक्त गरेका थिए ।
वडाध्यक्ष रुद्र उप्रेतीले चुनावी वाचा अनुसार टोलटोलमा पुगेर भत्ता वितरण गरिएको बताए । दशैँका बेला भत्ता वितरणले दशैँ मनाउनका लागि सहज समेत हुने अध्यक्ष उप्रेतीको भनाई छ ।
आज स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाडाँ,सोतागाउँ सम्म पुगेर भत्ता वितरण गरेका थिए ।

बर्षाका कारण अवरुद्ध वडा नम्बर ४का सबै टोलटोलमा सडक सुचारु

यसैबिच बर्षायाममा पहिरोका कारण अवरुद्ध भएका वडा नम्बर ४ का सबै सडकहरुमा सवारी साधन चल्न थालेका छन् । वडा कार्यालयले दशैँका बेला स्थानियहरुलाई सहज होस् भनि सबै टोलटोलमा पहिरोका कारण अवरुद्ध भएको सडकहरु मर्मत गरि सुचारु गरिएको अध्यक्ष उप्रेतीले बताए । स्थानियलाई गाउँपालिका, वडा कार्यालय र बजार सम्म आउजाउ गर्न सहज भएका छन् ।