चितवनमा एकैदिन ५२ जना डेँगु संक्रमित थपिए, संक्रमितको संख्या ९८१ पुग्यो

चितवनमा  एकैदिन ५२ जना डेँगु संक्रमित थपिए, संक्रमितको संख्या ९८१ पुग्यो

चितवन :  चितवनमा डेँगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन् । जसमध्ये चितवनका ४७ संक्रमित हुन् भने ठेगाना नखुलेका तीन र चितवन बाहिरका दुई संक्रमित छन् ।

चितवनमा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ९८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका ६५१ जना हुन् भने ठेगाना नखुलेका ११६ र अन्य जिल्लाका २१४ जना छन् । हाल सम्म ५ हजार १४४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।

चितवनका ६५१ संक्रमितमध्ये भरतपुरका मात्रै ४४४ संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । खैरहनीका ५३, माडीका १९, रत्ननगरका ७६, राप्तीका ३६, कालिकाका ८ र इच्छाकामनाका ५ संक्रमित रहेका छन् । हालसम्म दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।