चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने

चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध  चरणबद्ध आन्दोलन गर्ने

चितवन :  बैंकको चर्को ब्याजदर वृद्धिविरुद्ध चितवनका व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने भएको छ । कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाद्धारा गरिएको चर्को ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको भनि चितवनका व्यवसायीहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने भएका हुन् ।

मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजी क्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार , नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेकोले आन्दोलनका कार्यक्रमहरु गर्न लागिएको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनु भयो । नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आडमा बर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदरका कारण व्यवसायीक समुदाय थला परेकोले यसको विरुद्ध समय समयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने , प्रेस विज्ञप्ति प्रकाशन गर्ने कार्य यसपुर्वनै गरिएको भएता पनि हाल सम्म माग सम्बोधन नभएकोले आन्दोलनका कार्यक्रम तय गरिएको उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आज संघको सचिवालयमा वसेको रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीको वैठकले चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेको वैठकले निचोड निकालेको छ ।

साथै बैठकले नेपाल उद्योग वाणिज्य महासंघलाई पनि विरोधका कार्यक्रम आयोजना गर्न दबाब दिने निर्णय गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । संयुक्त वैठकमा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकरी गिरि, खैरहनी उवासंघका अध्यक्ष दिपेन श्रेष्ठ, राप्ती उवासंघका वरिष्ठ उपाध्यक्ष मार्कन्ड गौतम लगायतका नेतृत्व तहका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

बैठकले यहि मंसीर २० गते बैंकर्स संग छलफल गर्ने, २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने, २२ र २३ गते रत्ननर, खैरहनी र राप्तीमा शान्तिपूर्ण विरोध ¥याली आयोजना गर्ने, र २४ गते भरतपुरमा वृहत शान्तिपूर्ण विरोध ¥यालीको आयोजना गर्ने निर्णय गरेको संघले जनाएको छ । । साथै वैठकले तत्पश्चात पनि माग सम्बोधन नभएमा सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।