बुट्टार-चुम्लिङटार पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कार्वाहीको तयारी।

बुट्टार-चुम्लिङटार पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कार्वाहीको तयारी।

कुरिनटार- गोर्खाको गण्डकी गाउँपालिकास्थित बुट्टार र  चितवनको इच्छाकामना चुलिङटार जोड्ने पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशुली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता गर्दै आइरहेको थियो ।

पटक–पटक दबाब दिँदा पनि कम्पनीले निर्माण सम्पन्न गर्न आवश्यक कदम नचालेपछि आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (२क) बमोजिम ठेक्का अन्त्य किन नगर्ने भने प्रश्न समेत सोधिएको छ ।

७ दिन भित्र कम्पनीकातर्फबाट उचित जवाफ नआएमा कानुन बमोजिम कारबाही गर्ने आयोजनाले चेतावनी दिएको छ । गोरखा १ (क)बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण धितालले निर्वाचनअघि उक्त पुलको निर्माणकार्य अघि बढाउने बताएका थिए ।

यस्तै, निर्वाचन जितेपछि सांसद धितालले आवश्यक कदम चाल्दै पुल निर्माणको काम छिटो सक्न कम्पनीलाई दबाब दिँदै आवश्यक पहल गरेका हुन् ।

बुटार जोड्ने गरी त्रिशूली नदीमाथि पप्पु कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको ८ वर्ष बित्यो । राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा सो क्षेत्रका स्थानिय जनतालाई आउजाउमा निकै समस्य भएको छ ।

दुवैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छाडेको छ । सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपर्थ्यो। निर्माण सुरु भएको आठ वर्ष र सम्पन्न भइसक्नुपर्ने पाँच वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ। समयमै काम नसक्ने निर्माण व्यावसायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको थियो।

विवादपछि निर्माण व्यावसायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्दा दायर गरे। मुद्दा फैसला नहुँदा पुल निर्माण थप अन्योल बनेको छ । भूकम्प, नाकाबन्दी, कोभिड १९, सार्वजनिक खरिद नियमावलीको संशोधन लगायत कारणले म्याद थप हुँदै आएको थियो, पक्की पुल नजिकै एक सय मेघावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण हुँदैछ ।