इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति

कुरिनटार  : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित युनाइट प्रोजेक्ट नेपालले चितवनको इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिकाभित्रको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनसँग संयुक्तरूपमा सहमति गरेको छ।
इच्छाकामना–४, कुरिनटारमा भएको दुई दिने गोष्ठी समापन गर्ने क्रममा ती संस्थाहरूबीच विभिन्न बुँदामाथि छलफल गरेर गुणस्तरीय शिक्षाको लागि काम गर्ने विषयमा सहमति भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। सहमतिपत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष दानबहादुर गुरूङ, शिक्षक संगठनका तर्फबाट अध्यक्ष गोपी सिलवालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपत्रानुसार शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल र पालिकाको नीति निर्माण गर्नुपूर्व शिक्षक संस्थाहरूसँग छलफल गर्ने, निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षालाई प्रवद्र्धन गर्न शैक्षिक संवाद समितिलाई क्रियाशील बनाउने, पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा स्रोत, साधनको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, दिवा खाजालाई व्यवहारिक बनाउने, बालमैत्री विद्याथलय निर्माण र विद्यार्थीले पाउने हरेक सुविधालाई न्यायिक बनाउने, विद्यालयमै आत्मसुरक्षाको तालिम दिनुका साथै सेनेटरी प्याड निर्माणको कार्ययोजना ल्याइनेलगायतका विषय समेटिएका छन्।
बुधबार र बिहीबार कुरिनटारमा भएको कार्यशाला गोष्ठीबाट नयाँ योजना अगाडि आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार युनाइट प्रोजेक्ट नेपालले नेपालको स्थानीय तहमध्ये सबैभन्दा पहिला इच्छाकामना गाउँपालिकासँग सहमति गरेको हो। यो प्रोजेक्टले शिक्षकहरूका लागिसमेत नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम दिँदै आएको छ। बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा भएको दुई दिने कार्यशालामा ४२ जना शिक्षक सहभागी थिए।