युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ। आइतबार भएको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२।५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोडेको थियो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिए।
यूएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले ५, सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सनले एक एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको थियो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए ।
यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पछिल्ला १० खेलमा नेपालले ९ वटा खेल जितेको छ। यो सँगै नेपालले एकदिवसीय मान्यता समेत पाएको छ। ३४ खेलबाट ३६ अंक जोड्दै नेपाल चौथो नम्बरमा उक्लिएको हो। नेपाल आईसीसी विश्वकप क्रिकेट लिग टू का अबका २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्नेछ।
नेपाल भन्दा अघि तेस्रो नम्बरमा ३९ अंकसहित नामिबिया रहेको छ। स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन्।
